अरब मानव अधिकार दिवस मनाइयो l (एनआरएनए कतार सम्मानित)

Published On: Wednesday, March 22, 2017 | Source: NRNA QATAR

दोहा– आन्तरिक मन्त्रालय अन्तर्गतको मानव अधिकार विभागले १६ मार्चमा अरब मानव अधिकार दिवस मनाएको छ । हरेक वर्ष १६ मार्चमा अरब मानव अधिकार दिवस मनाउने गरिन्छ । कार्यक्रम सिभिल डिफेन्स अफिसर्स क्लबमा सम्पन्न भएको थियो । उक्त दिवसका नारा ‘मानव अधिकार तथा शान्तिपूर्ण सहअस्तित्व’ थियो ।
कार्यक्रममा मानव अधिकार विभागका सहायक निर्देशक लेफ्टिनेन्ट कर्णेल साद सलिम अल दोसारी लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभागका विशिष्ट अधिकारीहरू र अरब तथा गैरअरब आप्रवासी समुदायका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा बोल्दै लेफ्टिनेन्ट कर्णेल साद सलिम अल दोसारीले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक सुरक्षाबीच निकट सम्बन्ध रहेको भन्दै यसले शान्ति सुव्यवस्था कायम राख्न सकारात्मक यो गदान दिने बताए ।
विश्वव्यापी शान्ति सूचकांकमा कतार लगातार आठ वर्ष महत्वपूर्ण स्थानमा (एमइएनएमा पहिलो र विश्वस्तरमा ३४ नम्बरमा) र हनु उल्लेखनीय रहेको भन्दै उनले यसले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक सुरक्षामा कतारको सफलतालाई झल्काउने बताए ।
यही उपलब्धिले कतार लाई सांस्कृतिक सहअस्तित्व र सामाजिक शान्ति तथा जात, धर्म वा भाषा जे भए पनि अरुको सम्मान गर्ने परिपाटीमा नमूना बनाएको उनको भनाइ थियो । उनले खासगरी मानव अधिकार लगायत अरब जगतका अन्य साझा कदममा कतारको योगदानमाथि पनि प्रकास पारे । सो अवसर मा अरब र गैरअरब आप्रवासीले सबै समुदायको मानवअधिकार संरक्षणका लागि कतारका सम्बन्धित निकायले गरेको प्रयासको सराहना गरेका थिए ।
गैरअरव एसियली समुदायहरु (नेपाल, भारत, श्रीलंक, पाकिस्तान, पिलिपिन्स, बंगलादेश, मलेसिया र ईन्डोनसिया) को तर्फबाट बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष बिनेश तामाङले कतार संसारकै शान्त र सुरक्षितमध्येको एक मुलुक रहेको स्मरण गर्दै कामदारको अधिकारको क्षेत्रमा यसले थ्रुपै सफलता हासिल गरि सकेको बताए ।कतार सरकारले हालसालै श्रम कानुनमा गरेको सुधार लाई कामदार हकका सन्दर्भमा पछिल्लो सफलता भन्दै तामाङले यसबाट १९ लाख आप्रवासी कामदार को अधिकार प्रतिको कतार सरकारको सम्मान कति छ भन्ने कुरा प्रस्टिएको बताए ।
समुदायको अगुवाको नाताले कामदार र सरकार एवं सरकार –सरकार बीच सेतुको काम गर्नेप्रतिबद्धता उनले जनाए । श्रम कानुन, मानव अधिकारका सिद्धान्त तथा निष्पक्ष एवं जवाफदेही फौजदारी न्यायप्रणाली कार्यान्वयन र इस्लामिक कानुनको सम्मानमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
सो अवसरमा विभिन्न समुदायका प्रतिनिधिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । गैरआवासीय नेपलाी संघ कतारले समेत संस्थागत सम्मान प्राप्त गरेका थिए ।